तमिल शरणार्थीद्वारा घर फर्कन सहजीकरण गर्न आग्रह

-



     सफल आवाज    
     चैत्र १७ गते २०८१ मा प्रकाशित



रामेश्वरम, तमिलनाडु, १७ चैत । अनिश्चितता र मान्यताको अभावसँग जुधिरहेका श्रीलङ्काली तमिल शरणार्थीहरूले भारतको केन्द्र र तमिलनाडुको राज्य सरकारलाई श्रीलङ्का फर्कन सहजीकरण गर्न आग्रह गरेका छन्।

आर्थिक सङ्कट र सुरक्षाका कारण आफ्नो मातृभूमि छोडेर भागेका यी व्यक्तिहरू उचित सहयोग, शिक्षा वा रोजगारीका अवसरहरू प्राप्त गर्न नसकेर अलपत्र अवस्थामा बाँचिरहेका छन्। सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएयताको सबैभन्दा खराब आर्थिक सङ्कटका रुपमा सन् २०१९ मा श्रीलङ्काको आर्थिक उथलपुथल सुरु भएको थियो ।

सन् २०१० देखि तीव्र गतिमा बढेको बाह्य ऋण सन् २०१९ सम्ममा देशको कुल गार्हस्थ्य उत्पादनको ८८ प्रतिशत पुगेको छ । कोभिड–१९ महामारीले निम्त्याएको विश्वव्यापी मन्दीले श्रीलङ्काको अर्थतन्त्रलाई थप अस्तव्यस्त बनाएको छ । सन् २०२१ सम्ममा देशको बाह्य ऋण कुल गार्हस्थ्य उत्पादनको १०१ प्रतिशतसम्म पुगेको थियो, जसका कारण खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको व्यापक अभाव भएको थियो ।

आर्थिक सङ्कटका कारण व्यवसायहरू धराशायी भएका उद्योगहरू ठप्प भएका र जीविकोपार्जनमा गम्भीर असर परेको थियो । यो वित्तीय अस्थिरताले सन् २०२२ मा व्यापक विरोध प्रदर्शनको परिणतिलाई निम्त्यायो । नागरिकहरूले तत्काल आर्थिक सुधार र राहतको माग गर्दै सरकारविरूद्ध आन्दोलन गरे ।