अमेरिकी करको चिन्ताका बीच आसियान प्रमुखद्वारा क्षेत्रीय अर्थतन्त्रलाई ‘दृढतापूर्वक’ एकीकृत गर्न आह्वान

-



     सफल आवाज    
     चैत्र २७ गते २०८१ मा प्रकाशित



क्वालालम्पुर, २७ चैत । व्यापक अमेरिकी भन्सार शुल्कले विश्वको धेरै भाग विनाशकारी व्यापार युद्धको बीचमा फसेको भन्दै आसियानका प्रमुखले बुधबार क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिन आसियानले ‘दृढतापूर्वक कार्य’ गर्नुपर्ने बताएका छन्।

संयुक्त राज्य अमेरिकालाई आफ्नो मुख्य निर्यात बजारका रूपमा गणना गर्ने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको १० सदस्यीय सङ्घ (आसियान) राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सबैभन्दा कडा कर लगाउनेहरू मध्ये एक थियो ।

“आर्थिक अराजकता द्रुत रूपमा नयाँ सामान्य हुँदै गइरहेको विश्वमा सान्दर्भिक र लचिलो रहनका लागि हामीले स्थिर, पूर्वानुमानयोग्य र व्यापार–मैत्री वातावरणका लागि आसियानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न दृढतापूर्वक, निर्णायक रूपमा र सँगै काम गर्नुपर्दछ”, आसियानका महासचिव काओ किम होर्नले भने।

मलेसियाको राजधानी क्वालालम्पुरमा आसियानका आर्थिक तथा वित्तमन्त्रीहरू तथा केन्द्रीय बैंकका गभर्नरहरूको बैठकको पूर्वसन्ध्यामा अमेरिकी करको जवाफ कसरी दिने भन्ने विषयमा छलफल गर्न बोल्दै उनले यस्तो बताए। आसियान सरकारहरूले वार्तालाई प्राथमिकता दिँदै वासिङ्टनविरुद्ध बदला नलिने निर्णय गरेका छन् ।

तर अर्को प्रमुख बजार चीनले संयुक्त राज्य अमेरिकामा आफ्नै भन्सार शुल्क लगाएपछि उनीहरूको निर्यात उन्मुख अर्थतन्त्रहरू विश्वव्यापी व्यापार युद्धबाट प्रभावित हुने जोखिम छ ।