सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षा : आइएमएफ

-



     सफल आवाज    
     वैशाख १८ गते २०८२ मा प्रकाशित



दुबई, १८ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार मध्यपूर्व र उत्तर अफ्रिकाका लागि सन् २०२५ को आर्थिक पूर्वानुमान घटाएको छ । त्यहाँ व्यापार तनाव र बढ्दो अनिश्चितताले वृद्धिमा असर गर्ने अपेक्षा गरिएको छ ।

“सन् २०२५ र २०२६ मा अझै पनि वृद्धि बढ्ने अनुमान गरिएको छ, तर गत अक्टोबरमा अनुमान गरिएको भन्दा निकै सुस्त गतिमा”, आइएमएफले बिहीबार प्रकाशित गरेको आफ्नो क्षेत्रीय प्रतिवेदनमा भनेको छ ।

आइएमएफले सन् २०२५ का लागि चार प्रतिशतबाट दुई दशमलव छ प्रतिशत र सन् २०२६ का लागि चार दशमलव दुई प्रतिशतबाट तीन दशमलव चार प्रतिशतमा वृद्धिको अनुमान गरेको छ ।

यो संशोधनले ‘विश्वव्यापी व्यापार तनाव र उच्च विश्वव्यापी अनिश्चितता, तेल उत्पादनमा अधिक क्रमिक सुधार, यस क्षेत्रमा द्वन्द्वको लामो प्रभाव र केही देशमा संरचनात्मक सुधारहरूमा अपेक्षा भन्दा ढिलो प्रगति’ लाई प्रतिबिम्बित गर्दछ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको भन्सार शुल्कले यस क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छैन ।

“यस क्षेत्रका देशहरू र संयुक्त राज्य अमेरिकाबीचको आर्थिक एकीकरण सीमित छ र ऊर्जा क्षेत्रलाई भन्सार शुल्कबाट छुट दिइएको छ”, मध्यपूर्व र मध्य एसियाका लागि आइएमएफका निर्देशक जिहाद अजौरले भन्नुभयो, “तर अनिश्चितताले विश्वभर लगानी सम्भावना, वित्तीय बजार र तेलको मूल्यमा भार थप्छ, जसले मन्दीलाई बढाउँछ ।”

‘चलिरहेका द्वन्द्वहरू र विस्तारित स्वैच्छिक तेल उत्पादन कटौती’ का कारण सन् २०२४ मा यस क्षेत्रमा औसत वृद्धि अघिल्लो वर्षको दुई दशमलव एक प्रतिशतबाट एक दशमलव आठ प्रतिशतमा झरेको थियो ।