उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

-



     सफल आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित



पाेखरा, २१ वैशाख । नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ मा उत्कृष्ट खेल पत्रकारिता अवार्ड पत्रकार विजय नेपाललाई दिईने भएकाे छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकाे आज बसेकाे वैठकले प्रतिभा छनाेट समितिले गरेकाे सिफारिसलाई अनुमाेदन गरेकाे हाे ।

अध्यक्ष एमबि आस्थाको अध्यक्षतामा बसेको बैठकले साे निर्णय गरेको हो ।

प्रतिभा छनोट समितिमा संयोजक मञ्चका संस्थापक अध्यक्ष केशव पाठक र सदस्यहरुमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली र महासचिव परशुराम शर्मा थिए ।

मञ्चले वैशाख २६ गते पोखरा इभेन्ट सेन्टर बुलाैदीमा नवौं पोखरा स्पोर्टस् अवार्ड समारोह आयाेजना गर्ने जनाएकाे छ ।

साे समाराेहमा पत्रकार नेपाललाई रु ३५ हजार, अवार्ड र सम्मानपत्र प्रदान गरिनेछ । साथै समाराेहमा वर्ष खेलाडीसहित विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ ।

मञ्चका पूर्व महासचिव रहेका पत्रकार नेपाल हाल राजधानी दैनिक, आदर्श समाज दैनिक र हिमालप्रेसमा कार्यरत छन् । पाल्पाको रिब्दीकोट–७, मैनादीमा जन्मिएका उनी बाबु शालिकराम नेपाल र आमा सीतादेवी नेपालका २ छोरामा जेठा हुन् ।

उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् ।करिब दुई दशकदेखि पोखरामा निरन्तर पत्रकारितामा क्रियाशील उनले दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार–२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता–२०८०’ लगायतबाट पुरस्कृत गरिएको थियो ।

२०६२ सालतिर सञ्चार दर्पण साप्ताहिकबाट नियमित लेख्न थालेका उनले यस अवधिमा धेरै मिडियामा काम गरे । माइक्रोन्यूजबाट पत्रकारिता सुरु गरेका उनीसंग पोखरा हटलाइन, रेडियो वाराही, गोर्खा एफएम, स्टार एफएम, नमस्ते एफएम, पश्चिमाञ्चल एफएम, राइजिङ पोखरा, लुम्बिनी दैनिक, प्राप्ति, रासस, समाधान दैनिक, लोकान्तर, सफलआवाजमा काम गरेकाे अनुभव छ ।

उत्कृट खेल पत्रकारिता अवार्ड यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना र रोहितराज पराजुलीले पाईसकेका छन् ।