उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८२ मा प्रकाशित



मोन्टेभिडियो, ३१ वैशाख  । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ ।

“गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ । राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेता । हामी तपाईँलाई धेरै याद गर्नेछौँ, पुरानो साथी”, देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भने।

मुजिकाले आफ्नो सन् २०१०–२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरैजसो तलब परोपकारका लागि दान गरे र साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ का रूपमा प्रसिद्धि कमाए। उनले फुटबल र गाईको मासुका लागि परिचित ३४ लाख जनसङ्ख्या भएको उरुग्वेलाई भ्रष्टाचार र शक्तिशाली शासनले पीडित महादेशमा प्रगतिशील राजनीतिको गढमा रूपान्तरण गरे।

सन् २०२४ मे महिनामा उनलाई अन्नप्रणालीको क्यान्सर भएको पत्ता लागेको थियो, जुन पछि उनको कलेजोमा फैलियो । उहाँकी श्रीमती लुसिया टोपोलान्स्कीका अनुसार यस हप्ता उनले पोलिएटिभ हेरचाह प्राप्त गरिरहेका थिए। उनको निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी नेताहरूबाट श्रद्धाञ्जलि व्यक्त भएका छन् ।