होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

-



     सफल आवाज    
     जेठ ६ गते २०८२ मा प्रकाशित


Honda e and Energy Management Images


टोकियो, ६ जेठ । जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गरेकाे छ ।

सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती ञहो।

कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।

कम्पनीका अध्यक्ष तोशिहिरो मिबेका अनुसार अब सन् २०३० सम्ममा होन्डाको कुल सवारी साधन बिक्रीमध्ये विद्युतचालित सवारीको हिस्सा २० प्रतिशत मात्र रहनेछ, जुन पहिलाको लक्ष्य ३० प्रतिशत थियो।

क्यानडामा निर्माण गर्न लागिएको ब्याट्री र विद्युतचालित सवारी उत्पादन केन्द्रको निर्माण कार्य सन् २०२८ मा सुरु हुने भनिएको थियो, तर अब उक्त योजना दुई वर्ष पछाडि सारिएको छ। कम्पनीले त्यस अवधिमा अवस्था मूल्यांकन गरेर योजना अगाडि बढाउनेछ।

यद्यपि लगानी घटाइएको भए पनि, कम्पनीले सन् २०४० सम्म आफ्ना सम्पूर्ण नयाँ सवारी साधनहरूलाई विद्युतचालित वा इन्धनको सट्टा बिजुली प्रयोग गर्ने बनाउने दीर्घकालीन लक्ष्य यथावत राखेको छ।