खुला दौड प्रतियोगिताको उपाधि बस्नेतलाई

-



     सफल आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित



गोरखा, २७ पुस । पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारे । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भए ।

प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले २५ मिनेट २५ सेकेण्डमा पूरा गर्दैै दोस्रो भए । पूर्णबहादुर गुरुङले २५ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पार्न सफल भए । नेपाली सेनाका सुरज योगीले २५ मिनेट ५५ सेकेण्डमा दूरी पार गर्दै चाैथाे र सुमन मगरले २६ मिनेटमा पार गर्दै पाँचौं स्थान हात पार्न सफल भए ।

तत्कालीन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङचौताराबाट शुरु भएको दौड प्रतियोगिता सतिपिपल हुँदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपी चोकबाट पदेलीबाट ठूलो आँगनसम्म दूरी कायम गरिएको थियो । प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छन् । उनले ३२ मिनेट आठ सेकेण्डमा पूरा गर्दै प्रथम भएकी हुन ।

महिलातर्फको खुला दौड प्रतियोगितामा नेपाली सेनाकी सिर्जना पौडेलले ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै तेस्रो तथा सङ्गीता रानाभाटले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै चौंथो स्थान हात पार्न सफल भएकी छन् ।