मेवाका बिरुवा र फल बिक्रीबाट आम्दानी गर्दै सहकारी

-



     सफल आवाज    
     असार १७ गते २०८२ मा प्रकाशित



घोराही (दाङ), १७ असार। यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ ।

सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक रु ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए।

सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट रु ५० हजार र पाकेको फल बिक्री गरेर रु दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए।

मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उनले बताए। सुरुमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो । त्यसमा २५० बिरुवा सहकारीबाट लगाइएको उनको भनाइ छ । एक पोका बीउलाई रु आठ हजार ५०० पर्ने गरेको उनले बताए।

प्रत्येक पोकाबाट ४०० बिरुवा उत्पादन हुने गरेको उहाँसँग अनुभव रहेको छ । मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई रु १०० का दरले र त्योभन्दा कम लैजानलाई रु १५० का दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताउनुभयो । मेवाको फल र बिरुवा पनि राम्रौ बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुसी भएको उहाँ बताउनुहुन्छ । कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उहाँको भनाइ छ । भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँ बताउनुहुन्छ । यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो ।

सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष रु डेढ लाख आम्दानी गरेको थियो । ३५० सदस्य रहेको बलिदान कृषि सहकारीको रु डेढ करोड पुँजी रहेको छ ।