चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

-



     सफल आवाज    
     श्रावण ५ गते २०८२ मा प्रकाशित



बेइजिङ, ५ साउन । व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन र युरोपेली सङ्घ (इयु) का शीर्ष नेताहरूले यस साता बेइजिङमा शिखर सम्मेलन गर्ने भएका छन् ।

बेइजिङ र ब्रसेल्सले आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउन तयारी गरिरहेका छन्, तर राज्य अनुदान, बजारमा पहुँच र युद्धकालीन प्रतिबन्धहरूमाथि भएको झगडाले वार्षिकोत्सवलाई कमजोर बनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बिहीबार भ्रमण गर्ने पुष्टि गरेका छन् । बुधबार जापानमा छुट्टै बैठकको समापनपछि कोस्टा र भोन डेर लेयनले बेइजिङमा हुने इयु–चीन शिखर सम्मेलनमा भाग लिने इयुले शुक्रबार बताएपछि यो बयान आएको हो ।

कोस्टा र भोन डेर लेयनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । सीसँग उनीहरूले इयु–चीन सम्बन्ध र युक्रेनमा रुसको युद्ध लगायत वर्तमान भू–राजनीतिक चुनौतीहरूबारे छलफल गर्ने इयुको विज्ञप्तिमा उल्लेख छ । ब्लकका अनुसार चिनियाँ प्रधानमन्त्री ली कियाङसँग उनीहरूले सम्बन्धको व्यापारिक र आर्थिक पक्षहरूलाई विस्तृत रूपमा समेट्नेछन् ।