भारत र बेलायतबीच विस्तृत व्यापार सम्झौतामा हस्ताक्षर

-



     सफल आवाज    
     श्रावण ९ गते २०८२ मा प्रकाशित



लण्डन, ९ साउन । भारत र बेलायतबीच विगत तीन वर्षदेखि जारी प्रयासपछि बिहीबार बृहत् आर्थिक तथा व्यापार सम्झौता (सिइटिए) मा हस्ताक्षर भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीका रुपमा चौथो बेलायत भ्रमणका क्रममा यो सम्झौतामा हस्ताक्षर भएको छ ।

“यो सम्झौता आर्थिक साझेदारी मात्र होइन, साझा समृद्धिको योजना पनि हो,” सम्झौतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको ट्वीटमा उल्लेख छ । “सम्झौताबाट भारतीय टेक्सटाइल, फुटवेयर, जेम्स एन्ड ज्वेलरी, सीफुड र इन्जिनियरिङ उत्पादनले बेलायतमा राम्रो पहुँच पाउनेछन् ।

भारतको कृषि उत्पादन र प्रशोधित खाद्य उद्योगका लागि बेलायती बजारमा राम्रो अवसर हुनेछ,” प्रधानमन्त्री मोदीले भने। उनले भने, “यो सम्झौता विशेष गरी भारतका किसान, मछुआरा र एमएसएमई क्षेत्रका लागि लाभदायक साबित हुनेछ । त्यसैगरी चिकित्सा उपकरण र एयरोस्पेस पाट्र्सजस्ता बेलायतमा निर्मित उत्पादनहरू भारतका जनता र उद्योगका लागि पहुँचयोग्य र किफायती हुनेछन्।”

बेलायतका केही विपक्षी नेताहरूले यो सम्झौताले भारतीय कामदारहरूको लागि राष्ट्रिय बीमा योगदानमा छूट एक वर्षबाट बढाएर तीन वर्ष पुर्याउँदा बेलायती कामदारहरूलाई असर पर्न सक्ने चेतावनी दिएका छन्। सन् २०२० को ब्रेक्जिटपछि बेलायतले अन्य कुनै पनि देशसँग गरेको यो सबैभन्दा ठूलो व्यापार सम्झौता भएको बताइएको छ ।