पिपुल्स पावरको हकप्रदमा साउन २६ सम्म आवेदन दिन पाईने

-



     सफल आवाज    
     श्रावण ११ गते २०८२ मा प्रकाशित



काठमाडौं, ११ साउन । पिपुल्स पावरले असार २२ गतेदेखि निष्काशन गरेकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । अब कम्पनीको ५० प्रतिशत हकप्रद शेयरका लागि साउन २६ गतेसम्म आवेदन दिन पाईनेछ।

कम्पनीले हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ५ कित्ता रेसियाेमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे ३१ लाख ६३ हजार कित्ता निष्काशन गरेकाे हाे ।

हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि असार २ गते बुकक्लोज गरिएकाे थियो। यसका लागि असार १ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्।

शेयरमा लगानीका लागि लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। साथै सेबाेनबाट इजाजत लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाटर मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने भएका छन्।

कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ भने हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्ने भएकाे छ।

हकप्रद बिक्रीबाट संकलन गरिएकाे रकम पुवा २ जलविद्युत आयोजना निर्माणमा लिएको ऋणका लागि केही भुक्तानी गरिनेछ । बाँकी हुने रकम पुवा २ जलविद्युत आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम र कम्पनीले प्रबर्धन गरेका आयोजनामा लगानी गरिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।