सेवा दिने चिकित्सक नहुँदा बिमा ‘रेफरल प्रणाली’बाट नागरिकलाई सास्ती

-



     सफल आवाज    
     श्रावण १३ गते २०८२ मा प्रकाशित



काभ्रेपलाञ्चोक, १३ साउन । जिल्लामा बिमा ‘रेफरल प्रणाली’अन्तर्गत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइँदा नागरिकले निकै सास्ती ब्यहोर्नुपरेको छ । प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि जिल्लास्थित दलका नेताले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षणसमेत गराएका छन् ।

स्वास्थ्य बिमा बोर्डले जिल्लाको पाँच सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको थियो । त्यसमध्ये धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) र पाँचखाल पिएचसीले प्रथम सेवा बिन्दु सञ्चालन गर्न सकेका छैनन् । चिकित्सक अभावका कारण पनौती नगरपालिकामा रहेको (पिएचसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा समस्या देखिएको छ ।

उक्त केन्द्रले स्वास्थ्य बिमाको नियमित सेवामा प्रतिकूल प्रभाव परिरहेको जनाउँदै सोमबारदेखि दैनिक ४० जनालाई मात्र रेफरल दिने व्यवस्था गरिएको जानकारी दिएको छ । केन्द्रका निमित्त प्रमुख डा प्रज्वल लुइँटेलका अनुसार चिकित्सक अभावकै कारण सेवा दिन कठिनाइ भई स्वास्थ्य बिमाअन्तर्गत रेफरलमा समस्या उत्पन्न भएको छ । स्थानीयले दैनिक रूपमा स्वास्थ्य बिमाको सेवा लिने गरेकाले रेफरल प्रणाली सीमित हुँदा थप चुनौती हुने देखिएको छ ।

हालसम्म उक्त केन्द्रले करिब एक हजारलाई रेफरल सेवा दिएको जनाइएको छ । पनौतीमा रहेको अर्को खोपासी पिएचसीले दुई हजार बढीलाई रेफरल सेवा दिएको छ । साउन १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हेरफेर भएपछि जिल्लामा तोकिएको पाँचमध्ये पनौतीका दुई पिएचसीमा सेवाग्रहीको भीड लाग्दै आएको छ ।

यसैबीच प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि काभ्रेपलाञ्चोकस्थित नेपाली कांग्रेससहित विभिन्न दलको यसअघि २०८२ साल असार मसान्तसम्म प्रथम सेवा बिन्दुको रूपमा स्वास्थ्य बिमा सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पताललाई नै स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायम गर्न माग गर्दै सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।