टाइफुन काजिकी अघि भियतनामले दशौँ हजारलाई खाली गर्‍यो

-



     सफल आवाज    
     भाद्र ९ गते २०८२ मा प्रकाशित



भिन्ह (भियतनाम), ९ भदौ । टाइफुन काजिकीले देशको मध्य भागमा करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय भियतनामका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । यस वर्ष भियतनाममा असर गर्ने पाँचौँ टाइफुन समुद्रमा सक्रिय छ र टोन्किनको खाडीमा ९.५ मिटर (३१ फिट) उचाइका छालहरू उठेका छन् ।

पाँच तटीय प्रान्तका तीन लाख २५ हजार पाँच सयभन्दा बढी बासिन्दालाई विद्यालय र सार्वजनिक भवनहरू अस्थायी आश्रयस्थल बनाई सुरक्षित राखिएको अधिकारीहरूले जनाएका छन् । भिन्हको वाटरफ्रन्ट सहर रातभर जलमग्न रह्यो । बिहानसम्म सडकहरू सुनसान बनेका थिए, पसल तथा रेस्टुरेन्टहरू बन्द थिए र बासिन्दा तथा व्यवसायीहरूले आफ्नो सम्पत्तिको प्रवेशद्वारमा बालुवा भरिएका बोराहरू राखेका थिए ।

सोर्‍ह हजारभन्दा बढी सैनिक परिचालन गरिएपछि बिहानैसम्म करिब ३० हजार मानिसलाई क्षेत्रबाट सुरक्षित निकालिएको थियो । टाइफुनको बाटोमा परेका दुईवटा घरेलु विमानस्थल बन्द गरिएका छन् र सबै माछा मार्ने जहाजहरूलाई बन्दरगाहमा फर्काइएको छ । “मैले हाम्रो सहरमा यति ठूलो टाइफुन आएको कहिल्यै सुनेको थिइनँ”, ६६ वर्षीय ले मान तुङले भिन्ह इनडोर स्पोट्र्स स्टेडियममा भने। त्यहाँ विस्थापित परिवारहरू चामलको साधारण नास्ता खाइरहेका थिए ।

“म अलिकति डराएको छु, तर अन्ततः हामीले यसलाई स्वीकार्नुपर्छ किनकि यो प्रकृतिको शक्ति हो—हामी केही गर्न सक्दैनौँ”, उहाँले सोमबार बिहान निकासी स्थलमा भने। भियतनामको राष्ट्रिय हाइड्रो–मौसम पूर्वानुमान केन्द्रका अनुसार टाइफुनले दिउँसो १ः०० बजे (०६०० जिएमटी) करिब १५७ किलोमिटर प्रतिघण्टाको हावासहित अवतरण गर्ने अपेक्षा गरिएको छ ।