दुरोको चेतावनी : भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार

-



     सफल आवाज    
     भाद्र १७ गते २०८२ मा प्रकाशित



काराकास, १७ भदौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिएका छन्। पत्रकार सम्मेलनमा उनले दिएका भनाइहरू अमेरिकी सरकारले ल्याटिन अमेरिकी ड्रग कार्टेलहरूको गतिविधि नियन्त्रण गर्न भन्दै भेनेजुएलाको पानीमा आफ्नो समुद्री शक्ति विस्तार गर्ने तयारीसँग मेल खान्छन् ।

अमेरिकाले हजारौँ कर्मचारी तैनाथ गरिसके पनि भूमि आक्रमणको सङ्केत भने अहिलेसम्म दिएको छैन । तर, मदुरो सरकारले आफ्नो तट र कोलम्बियासँगको सीमामा सेना पठाएर, साथै नागरिकलाई मिलिसियामा भर्ना हुन आग्रह गर्दै प्रतिक्रिया जनाइसकेको छ । “यस असाधारण सैन्य दबाबको सामना गर्दै हामीले भेनेजुएलाको रक्षाका लागि अधिकतम तयारी घोषणा गरेका छौँ”, मदुरोले भने।

उनले यो तैनाथीलाई ‘अन्यायपूर्ण, अनैतिक, आपराधिक र रक्तपातपूर्ण खतरा’ का रूपमा चित्रण गरे। उनले यदि अमेरिकाले आक्रमण गर्‍यो भने संवैधानिक अधिकारअनुसार आफूले ‘अमेरिकाविरुद्ध हतियार उठाएको’ घोषणा गर्ने बताए। यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिएनन् । हाल अमेरिकी नौसेनासँग क्यारेबियन क्षेत्रमा दुई एजिस निर्देशित मिसाइल विध्वंसक – युएसएस ग्रेभली र युएसएस जेसन डनहम – रहेका छन् । साथै युएसएस स्याम्पसन विध्वंसक र युएसएस लेक एरी क्रूजर ल्याटिन अमेरिकी पानीमा तैनाथ छन् ।

अमेरिकी पक्षले यो सैन्य उपस्थितिलाई अझ विस्तार गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा, तीनवटा जल र स्थलबाट आक्रमण गर्ने जहाजहरू यो हप्ताभित्रै उक्त क्षेत्रमा प्रवेश गर्ने एपीलाई एक अमेरिकी रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । यी जहाजमा चार हजारभन्दा बढी नाविक र मरीन समावेश छन् ।