अमेरिकी भिसा सुधार बिना कोरियाली लगानीमा हिचकिचाहट : राष्ट्रपति ली

-



     सफल आवाज    
     भाद्र २६ गते २०८२ मा प्रकाशित



सियोल, २६ भदौ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारहरूका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीहरूले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिएका छन् ।

आफ्नो कार्यकालको एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सेप्टेम्बर ४ मा जर्जियामा भएको आप्रवासन छापामारीबारे पनि प्रष्ट्याए । सो घटनामा ह्युन्डाईको निर्माणाधीन ब्याट्री कारखानामा काम गर्ने तीन सयभन्दा बढी कोरियाली कामदार पक्राउ परेका थिए ।

लीका अनुसार वार्तापछि ती कामदारहरूलाई चार्टर विमानमार्फत शुक्रबार स्वदेश फर्काइने तयारी गरिएको छ । छापामारीपछि दक्षिण कोरियामा व्यापक आक्रोश चर्किएको छ । अमेरिकी अधिकारीहरूले केही कामदारलाई जञ्जिरले बाँधिएको भिडियो सार्वजनिक गरेपछि विश्वासघातको भावना बढेको थियो । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प र लीबीचको शिखर बैठकको दुई साताभन्दा कम समयमा आएको हो ।

त्यही बेला सियोलले अमेरिकी उच्च करबाट छुट पाएको थियो र तीन खर्ब ५० अर्ब डलर बराबरको नयाँ लगानी गर्ने वाचा गरेको थियो । सत्तारूढ र विपक्षी दुवै सांसदहरूले छापामारीलाई अपमानजनक भनेका छन् । प्रमुख पत्रिकाले यसलाई ‘खरायोको शिकार’ भन्दै आलोचना गरेको छ ।