गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८२ मा प्रकाशित



जेरुसेलम, ३१ भदौ । एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ । यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गरे।

यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भने। अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ ।

– बन्धक परिवारको विरोध –

गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला भई अपरेसन रोक्न माग गरेका छन् । कतिपयले पाल हालेर घरबाहिर रातभरै विरोध प्रदर्शन गरे । “मेरो एउटै चासो छ–मेरो छोरा मतानलाई बाँकी ४७ बन्धकसँग फर्काइयोस् र हाम्रा सैनिकहरू सुरक्षित घर फर्कून्”, आमा इनाभ जाङ्गाउकरले चिच्याउँदै भने। इजरायलको विश्वास अनुसार ४८ बन्धकमध्ये करिब २० जना जीवित छन् । तर हमासले स्थायी युद्धविराम, प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली फिर्तीसँग मात्र सम्झौता गर्ने अडान लिएको छ ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा सुरु भएको हो । उक्त दिन हमास नेतृत्वको आक्रमणमा करिब एक हजार दुई सय इजरायली मारिए र दुई सय ५१ जना अपहृत भए । कतिपय बन्धकहरू कतार वा अन्य सम्झौतामार्फत आंशिक युद्धविराममा मुक्त भएका छन् ।