ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना समीक्षा गर्दै हमास

-



     सफल आवाज    
     असाेज १४ गते २०८२ मा प्रकाशित



वासिङ्टन, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गरेका छन्।

राष्ट्रपति ट्रम्पले रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान अवस्थामा हमास लडाकूहरू निकै कमजोर भएको र अब यस प्रस्तावलाई स्वीकार गर्नुबाहेक विकल्प नरहेको बताए।

प्रधानमन्त्री नेतान्याहुले समेत योजना अस्वीकार भएमा इजरायल आफैँले अन्तिम कार्यवाही गर्ने चेतावनी दिए। कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत यो योजना हमासलाई प्रस्तुत गरिएको छ । हमास वार्ताकारहरूले यसलाई ‘राम्रो विश्वासका साथ’ अध्ययन गरिरहेको जानकारी दिइएको छ ।

कब्जा गरिएको पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजना स्वागत गरेको छ भने इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहलको प्रशंसा गरेका छन् । तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको प्रश्न प्रस्तावमा प्रष्ट उल्लेख नगरिएको भन्दै आलोचना गरिएको छ ।