गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प

-



     सफल आवाज    
     कार्तिक ३ गते २०८२ मा प्रकाशित



गाजा सिटी, ३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताएका छन् । उनका अनुसार गाजामा नौ दिनदेखि लागू भएको युद्धविराम अझै पनि प्रभावमा छ ।

इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लङ्घन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौं हवाई आक्रमण गरेको थियो । यस्ता आक्रमणमा कम्तिमा ४५ जनाको ज्यान गएको गाजाको हमास–नियन्त्रित नागरिक सुरक्षा निकायले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा भने, “हो, युद्धविराम अझै पनि लागूमा छ ।”उहाँले युद्धविरामको उल्लङ्घनमा हमासको नेतृत्वको संलग्नता नरहेको सङ्केत गर्दै ‘केही विद्रोही समूह’ जिम्मेवार भएको बताए। “हामी चाहन्छौं कि हमाससँगको स्थिति शान्तिपूर्ण होस्,“ ट्रम्पले भने, “तर यदि आवश्यक प¥यो भने कडा तर न्यायोचित ढङ्गले त्यसलाई समाधान गरिनेछ ।”

गाजाका चारवटा अस्पतालहरूले एएफपीलाई ४५ जनाको मृत्यु पुष्टि गरेका छन् । तर, गाजामा सञ्चार तथा पहुँचमा कठिनाइका कारण यस्ता विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने एएफपीले जनाएको छ । इजरायली सेनाले भने आफूहरूले युद्धविरामको पालना गरिरहेको तर कुनै पनि उल्लंघनप्रति कठोर प्रतिक्रिया जनाउने जनाएको छ । हमासले भने आरोपहरू अस्वीकार गर्दै इजरायलले युद्ध पुनः सुरु गर्ने बहाना बनाएको दाबी गरेको छ ।