अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८२ मा प्रकाशित



सियोल, ५ कात्तिक । उत्तर कोरियाले बुधबार बिहान धेरैवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेताहरू दक्षिण कोरियामा हुने शिखर सम्मेलनका लागि आउनु एक हप्ताअघि गरिएको पहिलो परीक्षण हो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार ‘छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू मानिएका धेरै प्रोजेक्टाइलहरू’ पत्ता लगाइएको छ । ती मिसाइलहरू राजधानी प्योङयाङको दक्षिणी क्षेत्रबाट बुधबार बिहान करिब ८ः१० बजे (मङ्गलबार २३१० जिएमटी) प्रक्षेपण गरिएको थियो । सियोलको सेनाले ती क्षेप्यास्त्रहरू करिब ३५० किलोमिटर (२१७ माइल) दूरीमा उडेको जानकारी दिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले पदभार सम्हालेपछि यो पहिलोपटक भएको क्षेप्यास्त्र परीक्षण हो । यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग सम्भावित भेटबारे सङ्केत गर्नुभएको छ । उनले आफ्नो पहिलो कार्यकालमा किमसँग भएका उच्चस्तरीय बैठकहरू स्मरण गर्दै यस वर्ष पुनः वार्ताको आशा व्यक्त गरे।

उत्तर कोरियाको सरकारी मिडियाले पनि किमले भविष्यको संवादका ढोका खुला रहेको सङ्केत गर्दै अमेरिकालाई ‘प्योङयाङले आणविक हतियार त्याग्ने भ्रमपूर्ण माग त्याग्न’ चेतावनी दिएको छ । यसअघि प्योङयाङले रुस र चीनका शीर्ष अधिकारीहरूको उपस्थितिमा आयोजित सैन्य परेडमा आफ्नो ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल ह्वासोङ–२० प्रदर्शन गरेको थियो ।

राज्य मिडियाले उक्त मिसाइलको प्रहार दूरी ‘कुनै सीमा थाहा छैन’ भनेर दाबी गरेको थियो । सेप्टेम्बर महिनामा किमले लामो दूरीका आणविक क्षेप्यास्त्रका लागि प्रयोग हुने ठोस इन्धन इन्जिनको परीक्षण निरीक्षण गरे। राज्य मिडियाका अनुसार यो नवौँ र अन्तिम परीक्षण थियो, जसले निकट भविष्यमा नयाँ आइसिबिएमको पूर्ण परीक्षण हुने सङ्केत गरेको छ ।