रूसद्वारा नयाँ आणविक क्षमतायुक्त क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को सफल परीक्षण

-



     सफल आवाज    
     कार्तिक ९ गते २०८२ मा प्रकाशित



मस्को, ९ कात्तिक । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको नयाँ आणविक–सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गरे। उनले यस मिसाइललाई ‘संसारमा अद्वितीय र अतुलनीय सिर्जना’ भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गरे।

क्रेमलिनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत युक्रेनमा जारी युद्धका बीचमा आयोजित उच्चस्तरीय सैनिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, “निर्णायक परीक्षणहरू अब पूर्ण भएका छन् र म रूसी सशस्त्र सेनामा यस हतियारलाई सेवामा राख्नका लागि आवश्यक पूर्वाधार निर्माणको आदेश दिन्छु ।”

पुटिनका अनुसार, ‘ब्युरेभेस्टनिक’ मिसाइलको ‘असीमित दायरा’ रहेको छ र यो ‘रूसी वैज्ञानिक र इन्जिनियरहरूको अद्वितीय उपलब्धि’ हो । उनले यसलाई विश्वमा अन्य कुनै देशसँग तुलना गर्न नसकिने ‘असाधारण प्राविधिक उपलब्धि’ का रूपमा वर्णन गरे।

रूसी सेनाका प्रमुख भ्यालेरी गेरासिमोभले अक्टोबर २१ मा सम्पन्न अन्तिम परीक्षणमा मिसाइलले करिब १४ हजार किलोमिटर दूरी तय गर्न लगभग १५ घण्टा उडान भरेको जानकारी दिए। उनका अनुसार यो दूरी मिसाइलको अधिकतम सीमा नभएको र अझ टाढासम्म प्रहार गर्न सक्ने क्षमता रहेको प्रमाणित भएको छ ।