अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

-



     सफल आवाज    
     कार्तिक १० गते २०८२ मा प्रकाशित



ब्युनस आयर्स, १० कात्तिक । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गरेका छन् ।

मिलेई नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जीत हासिल गरेको छ । यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए ।

५५ वर्षीय राष्ट्रपति मिलेईले ब्युेस आयर्समा आयोजित विजय समारोहमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, “आज हामी एउटा निर्णायक विन्दुमा पुगेका छौँ — आजबाट महान् अर्जेन्टिनाको निर्माण सुरु भएको छ ।” उनले यस निर्वाचनले ‘अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सुधारवादी संसद्’ ल्याउने विश्वास व्यक्त गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेईलाई बधाई दिँदै उहाँलाई ‘अद्भुत काम गरिरहनुभएको छ’ भनेर प्रशंसा गरे। आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभाका आधा र सिनेटका एक तिहाइ सिटका लागि प्रतिस्पर्धा भएको थियो । मिलेईले आफ्नो दलले प्रतिनिधिसभामा सिट सङ्ख्या ३७ बाट बढाएर १०१ र सिनेटमा छ बाट बढाएर २० पुर्‍याएको बताए।