यी दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित



काठमाडौं १४ कात्तिक । आज शुक्रबार दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन गरिएकाे छ। गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीकाे शेयरमूल्य समायोजन गरिएकाे हाे ।

दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे हो।

गुराँस लघुवित्तको १४.२५ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । मूल्य समायोजनपछि गुराँस लघुवित्तको शेयरमूल्य २ हजार २१ रुपैयाँ ८८ पैसा र मुक्तिनाथको १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम गरिएकाे छ।

नेप्सेले बिहीबार काराेबार भएकाे अन्तिम मूल्यकाे आधारमा शेयरमूल्य समायोजन गरेको हो। साे दिन गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ३१० रुपैयाँ र मुक्तिनाथको १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब आइतबार समायोजन गरिएकाे मूल्यकाे आधारमा शेयर कारोबार हुनेछ।

गुराँस लघुवित्तले दशौँ वार्षिक साधारण सभा कात्तिक २३ गते हिले कान्जिरोवा मकालु होटल, धनकुटामा बिहान ९ बजे बाेलाएकाे छ । सभाले १४.२५ प्रतिशत बोनस शेयर र प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई, ४ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।

मुक्तिनाथ कृषि कम्पनीले सातौँ वार्षिक साधारण सभा कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा बिहान साढे ११ बजे बाेलाएकाे छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र ६० प्रतिशत हकप्रद शेयर निष्काशनकाे प्रस्ताव पारित गरिने भएकाे छ ।