राष्ट्रपति ट्रम्पको आणविक परीक्षण आदेशले विश्वव्यापी तनाव चर्कायो

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित



वासिङ्टन, १४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने आकस्मिक निर्देशन जारी गर्नुभएपछि विश्वभर तीव्र प्रतिक्रिया र चिन्ता उत्पन्न भएको छ । यो निर्णयले नयाँ महाशक्ति प्रतिस्पर्धा र विश्व सुरक्षाको सन्तुलनमा गम्भीर असर पार्ने आशङ्का गरिएको छ ।

आफूलाई ‘शान्तिप्रिय राष्ट्रपति’ भएको दाबी गर्दै आउनुभएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर सम्मेलनमा सहभागी हुनुअघि नै सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्नुभएको थियो । तर उहाँको उक्त वक्तव्यले धेरै प्रश्नहरू खुला छोडेको छ — विशेषगरी, उहाँले केवल हतियार प्रणाली परीक्षणको आदेश दिनुभएको हो वा वास्तविक आणविक विस्फोट परीक्षण गरिन थालेको हो भन्ने कुरा अस्पष्ट छ ।

संयुक्त राज्य अमेरिकाले सन् १९९२ यताका तीन दशकदेखि कुनै पनि आणविक विस्फोट परीक्षण गरेको छैन । ट्रम्पको आदेशपछि अमेरिकाका प्रमुख आलोचक इरानले कडा आपत्ति जनाउँदै यसलाई ‘अत्यन्तै प्रतिगामी र गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमा लेख्दै भन्नुभयो, “एक आणविक–सशस्त्र बदमाशीले आणविक हतियार परीक्षण पुनः सुरु गरेको छ, जबकि उही देशले इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि दोषारोपण गर्दै आएको छ ।”

यसैबीच, जापानमा द्वितीय विश्वयुद्धका आणविक बम पीडितहरूको संस्था निहोन हिडान्क्योले टोकियोस्थित अमेरिकी दूतावासमा औपचारिक विरोधपत्र पठाएको छ । नोबेल शान्ति पुरस्कार विजेता उक्त समूहले एएफपीलाई पठाएको पत्रमा भनिएको छ, “राष्ट्रपति ट्रम्पको निर्णयले आणविक हतियाररहित शान्तिपूर्ण संसारको दिशामा विश्वभर चलिरहेका प्रयासहरूलाई प्रत्यक्ष चुनौती दिएको छ । यो कार्य पूर्ण रूपमा अस्वीकार्य छ ।”

– वैश्विक प्रतिबन्धको उल्लङ्घनको आशङ्का –

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकालाई विश्वव्यापी आणविक परीक्षण प्रतिबन्ध सन्धिको ‘गम्भीरतापूर्वक पालना गर्न’ आग्रह गर्नुभयो । चीन र संयुक्त राज्य अमेरिकाले पछिल्ला वर्षहरूमा आणविक परीक्षणमा रोक लगाए पनि रुस र अमेरिका दुवैले आणविक–सक्षम प्रणालीहरू समावेश गरी नियमित सैन्य अभ्यास जारी राख्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना उपप्रवक्तामार्फत वक्तव्य जारी गर्दै भन्नुभयो, “कुनै पनि परिस्थितिमा आणविक परीक्षणलाई अनुमति दिन सकिँदैन ।” उहाँले यस कदमले विश्व शान्तिमा नयाँ सङ्कट उत्पन्न गर्ने चेतावनी दिनुभयो ।