
न्युयोर्क, २ मङ्सिर । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने व्यवस्थालाई समर्थन गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको छ । परिषद्ले १३–० मतले प्रस्ताव अनुमोदन गरेको हो ।
परिषद्का स्थायी सदस्य चीन र रुस मतदानबाट अनुपस्थित रहेका थिए । यो मतदान इजरायल र हमासले गत महिना ट्रम्पको २०–बुँदे योजना अन्तर्गतको प्रारम्भिक चरण—दुई वर्षदेखि जारी युद्धलाई रोक्ने युद्धविराम तथा इजरायली बन्धकहरूको रिहाइको सम्झौता—स्वीकार गरेपछि भएको हो । यस निर्णयलाई गाजामा प्रस्तावित सङ्क्रमणकालीन प्रशासनलाई अन्तर्राष्ट्रिय वैधता प्रदान गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले स्थिरता मिशनमा सहभागी हुन चाहने राष्ट्रहरूलाई प्रोत्साहित गर्ने मानिएको छ ।
प्रस्तावमा सहभागी राष्ट्रहरूले ट्रम्पको अध्यक्षतामा रहने ‘शान्ति बोर्ड’ मा भाग लिन सकिने व्यवस्था गरिएको छ । उक्त बोर्डलाई गाजाको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका गतिविधि सञ्चालन गर्ने अस्थायी प्रशासनिक निकायका रूपमा परिभाषित गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्थिरीकरण बललाई (आइएसएफ) क्षेत्रको असैन्यीकरण, हतियार नष्ट गर्ने तथा सैन्य पूर्वाधार ध्वस्त पार्ने जिम्मेवारी औपचारिक रूपमा दिने अधिकार पनि प्रस्तावले प्रदान गर्दछ । तर हमासले परिषद्को निर्णयलाई अस्वीकार गरेको छ ।
समूहले आफू निरस्त्रीकरण नहुने दृढता दोहोर्याउँदै इजरायलविरुद्धको आफ्नो सङ्घर्षलाई ‘वैध प्रतिरोध’ भनेको छ । हमासले यस प्रस्तावलाई ‘गाजा पट्टीमा अन्तर्राष्ट्रिय संरक्षकता थोपर्ने प्रयास’ भनी आरोप लगाउँदै जनताले यसलाई अस्वीकार गर्ने दाबी गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले परिषद्को बैठकमा प्रस्तावलाई ‘प्यालेस्टिनी आत्मनिर्णयतर्फ सम्भावित मार्गचित्र’ को रूपमा व्याख्या गर्नुभयो । उहाँले यसले ‘हमासको नियन्त्रण तोड्ने’ र गाजालाई आतङ्क र भयमुक्त, समृद्ध तथा सुरक्षित बनाउने आधार तयार गर्ने बताउनुभयो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




