आज ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित



काठमाडौं, २८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब निक्षेप संकलन गर्दैछ । बैंकले १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्न लागेकाे हाे । तरलता बढेकाेले फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको जनाएकाे छ ।

अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी छ । वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाले तरलता संकलन गर्दै आएको छ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बोलकबाेल गरेकाे ब्याजदरअनुसार सबैभन्दा कम दर बोलकबाेल गर्ने रकम प्राथमिकतामा राखेर आह्वान गरेको रकमसम्म बाँडफाँट गरिने भएकाे छ ।

निक्षेप बढेकाेले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ । सावाँ तथा ब्याज २०८२ पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएकाे छ । बोल गर्न सकिने रकम घटीमा १० करोड तथा बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

निक्षेप संकलन बोलकबोल भनेको के हो ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो ।

यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।