ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

-



     सफल आवाज    
     पौष १ गते २०८२ मा प्रकाशित



वासिङ्टन, १ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ ।

फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ । उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीले ‘मेरो मुखमा शब्दहरू राखिदिएको’ दाबी गर्नुभयो ।

उहाँले उक्त वृत्तचित्र सम्पादन गर्दा ‘एआई वा यस्तै कुनै प्रविधि प्रयोग गरिएको हुनसक्छ’ भन्ने आशङ्कासमेत व्यक्त गर्नुभयो र मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बिबिसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो । सो भिडियोमा सन् २०२१ जनवरी ६ का राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उहाँले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गर्नुभएको जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ ।

त्यही दिन अमेरिकी सांसदहरू जो बाइडेनको सन् २०२० को चुनावी जित प्रमाणित गरिरहेका थिए । राष्ट्रपति ट्रम्पको कानूनी टोलीका प्रवक्ताले एएफपीलाई जारी गरेको विज्ञप्तिमा ‘पहिले सम्मानित र अहिले अपमानित भइसकेको बिबिसीले सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने निर्लज्ज प्रयासस्वरूप जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा राष्ट्रपति ट्रम्पको भाषणलाई हेरफेर गरेर उहाँलाई बदनाम गरेको’ आरोप लगाएका छन् । विज्ञप्तिमा बिबिसीले आफ्ना दर्शकहरूलाई धोका दिने ढाँचा लामो समयदेखि कायम राखेको र त्यो सबै आफ्नै वामपन्थी राजनीतिक एजेन्डाको सेवामा गरिएको दाबीसमेत गरिएको छ ।