पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

-



     सफल आवाज    
     पौष ८ गते २०८२ मा प्रकाशित



टोकियो, ८ पुस । जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबीच, उहाँको ९२औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ । यस वर्षको सुरुमा देखिएको स्वास्थ्य चिन्तापछि उहाँको अवस्था हाल नियन्त्रणमा रहेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ ।

सम्राट नारुहितोका पिता अकिहितोलाई मे महिनामा मुटुको मांसपेशीमा पर्याप्त मात्रामा रगत प्रवाह नहुने समस्या देखिएको थियो । तर जुलाईदेखि नयाँ औषधि सुरु गरिएपछि उहाँको स्वास्थ्य अवस्था स्थिर रहँदै आएको एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उमेरका बाबजुद पनि उहाँ अझै सक्रिय जीवनशैलीमा रहनुभएको छ ।

विशेषगरी गोबी माछामाथिको वैज्ञानिक अनुसन्धानमा उहाँको रुचि कायमै रहेको छ । यस क्षेत्रमा उहाँले अहिलेसम्म १० नयाँ प्रजाति पहिचान गरिसक्नुभएको छ । एजेन्सीका अनुसार उहाँ हप्तामा दुई पटक दरबार परिसरभित्र रहेको जीवविज्ञान प्रयोगशालामा जानुहुन्छ ।

सन् २०१९ मा गद्दी त्याग गरेपछि ‘सम्राट एमेरिटस’ को उपाधि धारण गर्नुभएका अकिहितोले आफ्नो जन्मदिन परिवारसँगै मनाउने र जापानी प्रधानमन्त्री साने तकाइचीसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।