कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु

-



     सफल आवाज    
     पौष १९ गते २०८२ मा प्रकाशित



बेनी, कङ्गो, १९ पुस । अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित बिद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा बिद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।” स्थानीय बासिन्दाहरूले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ । यो समूह प्रारम्भमा युगान्डाका पूर्व बिद्रोहीहरूले गठन गरेका थिए र १९९० दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् ।

यसले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ । सन् २०२१ देखि युगान्डाका सैनिकहरू कङ्गोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् । बिद्रोही प्रायः असहाय नागरिकमाथि हमला गर्छन् र त्यसपछि जङ्गलतर्फ भाग्छन् ।