
सियोल, १४ माघ । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ ।
त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उहाँका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा हुनुहुन्छ ।
अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिनुभएको थियो । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन । कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित हुनुभएको थियाे।
अभियोजकहरूले उहाँ आफूलाई कानूनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उहाँका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




