इरान–अमेरिका ओमान वार्ता तयारी

-



     सफल आवाज    
     माघ २३ गते २०८२ मा प्रकाशित



मस्कट, २३ माघ । घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका शुक्रबार ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् । वासिङ्टनले इरानी आणविक कार्यक्रमसहित अन्य विषयमा कूटनीतिक प्रगतिको सम्भावना छ कि छैन भन्ने जाँच गर्ने उद्देश्यले सैन्य कारबाहीलाई अस्वीकार गर्दै वार्तामा जान लागेको जनाएको छ ।

वार्ता स्थान, समय र ढाँचाबारे लामो अनिश्चिततापछि बुधबार राति पुष्टि भएको हो । गत जुनमा संयुक्त राज्य अमेरिकाले इरानका आणविक साइटहरूमा आक्रमण गरी यस मुलुकविरुद्ध इजरायलको युद्धमा सामेल भएपछि दुई देशबीच हुने यो पहिलो प्रत्यक्ष कूटनीतिक सम्पर्क हो ।

संयुक्त राज्य अमेरिकातर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विटकफले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघची वार्तामा सहभागी हुनुहुनेछ । अराघचीले वार्ताअघि सामाजिक सञ्जाल एक्समा लेख्दै इरान खुला आँखा र गत वर्षका अनुभवका साथ कूटनीतिमा प्रवेश गरिरहेको बताउनुभयो । उहाँले इरान राम्रो विश्वासका साथ संलग्न हुने र आफ्नो अधिकारमा दृढ रहने स्पष्ट पार्नुभयो ।

प्रतिबद्धताहरूको सम्मान अनिवार्य रहेको उल्लेख गर्दै उहाँले समानता, आपसी सम्मान र पारस्परिक हित दीगो सम्झौताका आधारस्तम्भ भएको बताउनुभयो । इरानले बिहीबार शान्ति कायम राख्न कूटनीतिको प्रयोग गर्ने कुनै अवसर नछोड्ने जिम्मेवारी रहेको जनाउँदै वासिङ्टनले जिम्मेवारी, यथार्थवाद र गम्भीरताका साथ छलफलमा भाग लिने अपेक्षा व्यक्त गरेको छ ।