भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

-



     सफल आवाज    
     माघ २५ गते २०८२ मा प्रकाशित



नयाँदिल्ली, २५ माघ । भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा सेमिकन्डक्टर क्षेत्रमा आपसी साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका छन् । हिन्द महासागर क्षेत्रका छिमेकी राष्ट्रहरू व्यापार र सुरक्षा सम्बन्ध विस्तारतर्फ अग्रसर भइरहेका बेला दुवै देशले प्रविधि–आधारित सहकार्यलाई प्राथमिकता दिने सङ्केत गरेका छन् ।

प्रधानमन्त्री मोदी शनिबार मलेसिया पुग्नुभएको हो । यो एक दशकभन्दा बढी समयपछि भएको उहाँको पहिलो भ्रमण हो । भ्रमणका क्रममा उहाँले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र कृत्रिम बौद्धिकता (एआई) लगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री मोदीले एआई र डिजिटल प्रविधिसँगै सेमिकन्डक्टर, स्वास्थ्य र खाद्य सुरक्षामा पनि साझेदारीलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले यी क्षेत्रहरू दुवै देशका लागि दीर्घकालीन रणनीतिक महत्त्वका विषय भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री अनवर इब्राहिमले भारत र मलेसियाबीच भएको यो भेटवार्ता र आदानप्रदानलाई अत्यन्तै महत्त्वपूर्ण र रणनीतिक बताउनुभयो । मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मलेसिया सरकारको तथ्याङ्कअनुसार सेमिकन्डक्टरको विश्वव्यापी निर्यातमा मलेसिया छैटौँ स्थानमा रहेको छ । यस क्षेत्रले मलेसियाको कुल घरेलु उत्पादनमा करिब २५ प्रतिशत योगदान पुर्‍याउने गरेको छ, जसले यसको आर्थिक महत्त्व स्पष्ट गर्छ ।