सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

-



     सफल आवाज    
     फागुन ३ गते २०८२ मा प्रकाशित



कायरो,३ फागुन । सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले सहर कब्जा गरेपछि भएको हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी मानिसको हत्या भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार तीन दिनभित्रै भएको उक्त आक्रमणमा सडकमा गोली हान्ने, समूहद्वारा कुटपिट, अपहरण, बलात्कार र अन्य अमानवीय क्रियाकलाप समावेश थिए । सहरभित्र सामान्य नागरिक, महिला र बालबालिकासमेत मारिएका छन् ।

शरणस्थल, विद्यालय, अस्पताल र विश्वविद्यालय परिसरहरू आक्रमणको केन्द्र बनेका थिए । हजारौं मानिस भाग्ने क्रममा मारिएका तथा घाइते भएका थिए । प्रतिवेदनले यस आक्रमणलाई विशेष जातीय समूहहरूलाई लक्षित गरेर गरिएको सामूहिक हत्या र अत्याचारका रूपमा वर्णन गरेको छ ।

हिंसात्मक गतिविधिहरूमा नागरिकलाई सडकमा गोली हान्ने, घर र संरचना नष्ट गर्ने, बलात्कार, जबरजस्ती नजरबन्द, यातना, अपहरण र शारीरिक हिंसा समावेश थिए । अस्पतालमा रहेका बिरामी, सुत्केरी महिलाहरू र स्वास्थ्यकर्मीहरू पनि आक्रमणको शिकार बनेका थिए । विश्वविद्यालय र छात्रावासमा पनि ठूलो सङ्ख्यामा सामान्य नागरिक मारिएका थिए ।