पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: वर्तमान अवस्था र भविष्यको दृष्टिकोण

-



     सफल आवाज    
     फागुन ७ गते २०८२ मा प्रकाशित



पाेखरा, ७ माघ । सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (CESIF), नेपालले पोखरामा “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: वर्तमान अवस्था र भविष्यको दृष्टिकोण” विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। उक्त छलफलमा प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारी, स्थानीय प्रतिनिधि, पोखराको व्यवसायीक समुदाय र पत्रकारहरूको सहभागिता रहेको थियो।

CESIF का कार्यकारी अध्यक्ष राजदूत विजयकान्त कर्णले नेपालमा जवाफदेही शासनको निरन्तर अभावले ठूला पूर्वाधार आयोजनाहरूको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य बाधा पुर्याएको बताए। उनले भने, “संस्थागत जवाफदेहिता बिना राम्रो नियतका साथ सुरु गरिएका आयोजनाहरूले पनि अपेक्षित प्रतिफल दिन संघर्ष गरिरहेका छन्।”

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल भइरहेको आम्दानी यसको ऋणको दायित्व भुक्तानी गर्न अपर्याप्त रहेको बताउदै उनले थपे, “वर्तमान आम्दानीको स्तरमा ऋण चुक्ता गर्ने मोडेल आर्थिक रूपमा दिगो छैन र यसका लागि तत्काल नीतिगत पुनरावलोकन आवश्यक छ।”

CESIF की रिसर्च फेलो सुरुङ्गना राणाले विमानस्थलको वर्तमान सञ्चालन स्थिति र दीर्घकालीन दृष्टिकोणको संक्षिप्त रूप प्रस्तुत गरिन्। उनले योजनादेखि कार्यान्वयनसम्मको चरणमा परियोजनामा देखिएका गम्भीर जवाफदेहिताको अभावलाई जोड दिइन्। उनले भनिन्, “यदि पोखराले आफ्नो अन्तर्राष्ट्रिय सम्भावनालाई साकार पार्ने हो भने सुदृढ कूटनीतिक संलग्नतामार्फत प्रमुख हवाई मार्गहरु प्राप्त गर्नु महत्वपूर्ण छ।” उनले लक्षित प्राविधिक र नियामक सुधारको प्रस्ताव गर्दै प्राविधिक समस्याहरूको समाधानलाई नीतिगत समन्वयसँग जोड्न सके विमानस्थलको कार्यक्षमतामा उल्लेखनीय सुधार आउन सक्छ भन्ने कुरामा जोड दिइन्।

मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘घोस्ट प्रोजेक्ट’ वा ‘सेतो हात्ती’ भन्न नमिल्ने बताए। उनले भने, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रका लागि सम्पत्ति हो, असफल उद्यम होइन।” उनले पोखराका सरोकारवालाहरूलाई संघीय सरकारसँग दृढतापूर्वक प्रस्तुत हुन र परियोजनाको मूल्यलाई कमजोर बनाउने भाष्यहरूको प्रतिरोध गर्न आह्वान गरे। उनलेभने, “आवश्यक परेमा राज्यले ऋण चुक्ताको जिम्मेवारी लिनुपर्छ, यो विमानस्थल स्थानीय मात्र नभई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको हो।”

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक कमजोरीका कारण मात्र नभई ठूला भू-राजनीतिक अवरोधका कारण निष्क्रिय बनेको र अब हामीले विगतलाई कोट्याउनु भन्दा यसको भविष्यमा ध्यान केन्द्रित गर्नुपर्छ,” पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भने। “वर्तमान मन्त्रीले मुख्य सिफारिसहरूमा कुनै कारबाही नगर्नु र काठमाडौंले पहिले नै समयमै बहस वा सुधारको छलफल नगरी पोखरालाई प्राविधिक रूपमा अयोग्य भनिरहनु चिन्ताको विषय हो।” उनले थपे, “नेपालको मुख्य समस्या जवाफदेहिताको अभाव हो र जबसम्म पोखराले सामूहिक रूपमा रचनात्मक दबाब सिर्जना हुदैन र व्यापक सुधार प्याकेजको लागि पहल हुदैन, तबसम्म यो अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक संचालनको वाचा अधुरै रहनेछ।”

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि आर लामिछानेले नेपालको आर्थिक गतिशीलतालाई सुदृढ गर्न क्षेत्रीय कनेक्टिभिटीको विस्तारको रणनीतिक महत्वबारे चर्चा गरे। उनले दक्षिण एसिया र त्यसभन्दा बाहिर पर्यटन, व्यापार र सीमापार आदानप्रदानलाई प्रोत्साहन गर्न हवाई सम्पर्क विस्तार आवश्यक रहेको बताए। यस सन्दर्भमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय उड्डयन हबका रूपमा सेवा गर्न सक्ने महत्वपूर्ण पूर्वाधार सम्पत्तिका रूपमा चित्रण गरे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरालाई देशको पर्यटकीय राजधानीको रूपमा वास्तविक आर्थिक र पर्यटकीय सम्भावना उजागर गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिए। उनले भने, “यदि हामी क्षेत्रीय विकासप्रति गम्भीर छौं भने पर्यटकीय हबमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई कम उपयोगमा राख्न सकिँदैन।” उनले सञ्चालनका चुनौतीहरूले रोजगारी सिर्जना र लगानी आकर्षणका लागि विमानस्थलको व्यापक रणनीतिक महत्वलाई ओझेलमा पार्न नहुने उल्लेख गरे। साथै, उनले सार्वजनिक विश्वास र संस्थागत विश्वसनीयता कायम राख्न आयोजनासँग जोडिएका कथित भ्रष्टाचार र अनियमितताको छानबिन गर्न नेपाल सरकारलाई आग्रह गरे ।

वक्ताहरूको मन्तव्यपछि कार्यक्रम अन्तर्क्रियात्मक सत्रमा प्रवेश गरेको थियो । सहभागीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन दिगोपना र रणनीतिक उपयोग सुनिश्चित गर्न आवश्यक प्रमुख सम्भावनाहरू, संरचनात्मक चुनौतीहरू, नीतिगत खाडलहरू र सुधारका मार्गहरूबारे छलफल गरेका थिए।