उत्तर कोरियामा किम यो जोङको पदोन्नति

-



     सफल आवाज    
     फागुन १२ गते २०८२ मा प्रकाशित



सियोल, १२ फागुन । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यो निर्णयलाई सत्ता संरचनाभित्र उहाँको प्रभाव औपचारिक रूपमा अझ बलियो बनाइएको सङ्केतका रूपमा हेरिएको छ ।

पाँच वर्षमा एकपटक आयोजना हुने पार्टीको शिखर सम्मेलनका लागि हजारौँ प्रतिनिधि प्योङयाङमा भेला भइरहेका बेला गरिएको यो पदोन्नतिले कूटनीति, सुरक्षा र रणनीतिक विषयमा किम परिवारको पकड झन् सुदृढ भएको देखाएको छ । किम यो जोङले यसअघि प्रचार संयन्त्रमा वरिष्ठ भूमिका निर्वाह गर्नुभएको थियो, तर अहिले कुन विभागको नेतृत्व गर्नुभएको हो भन्ने खुलाइएको छैन ।

लामो समयदेखि आफ्ना दाजुका सबैभन्दा नजिकका सहकर्मीका रूपमा चिनिनुभएकी उहाँले आणविक वार्ता र अन्तर्राष्ट्रिय कूटनीतिमा स्पष्ट र कडा अभिव्यक्ति दिँदै आउनुभएको छ । अनुसन्धानकर्ता अहन चान–इलका अनुसार किम जोङले पूर्ण भरोसा गर्न सक्ने सीमित व्यक्तिमध्ये उहाँ एक हुनुहुन्छ । सिङ्गापुर र हनोईमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएका शिखर भेटवार्तामा उहाँ कार्यस्तर अधिकारीका रूपमा सक्रिय रहनुभएको थियो ।