
ब्रसेल्स, १७, फागुन । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर चासो व्यक्त गरिएको छ ।
विश्व नेताहरूले सावधानीपूर्वक प्रतिक्रिया जनाउँदै संयमता र कूटनीतिक पहलको आह्वान गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गर्दै यसलाई ‘इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर’ बताउनुभएको छ । इरानी सरकारी सञ्चारमाध्यमले ८६ वर्षीय नेताको निधन भएको जनाएको छ, तर कारण खुलाएको छैन ।
इजरायली अधिकारीहरूले नाम नछाप्ने सर्तमा उहाँको मृत्यु भएको जानकारी दिएका थिए भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा खामेनीको कम्पाउन्डमा गरिएको आक्रमणपछि उहाँको मृत्यु भएको ‘बढ्दो सङ्केत’ देखिएको उल्लेख गर्नुभएको छ । खामेनीको स्पष्ट उत्तराधिकारी सार्वजनिक रूपमा तोकिएको थिएन । त्यसैले उहाँको सम्भावित निधनले इरानको राजनीतिक संरचना र नेतृत्व सङ्क्रमणलाई लिएर अन्योल थपिएको छ । विश्लेषकहरूले यसले आन्तरिक शक्ति सङ्घर्ष चर्किन सक्ने र बाह्य द्वन्द्व तीव्र हुन सक्ने सङ्केत गरेका छन् । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै विषयमा आपतकालीन बैठक बोलाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




