इरान सङ्कट चर्कियो, खामेनीको मृत्यु पुष्टि

-



     सफल आवाज    
     फागुन १७ गते २०८२ मा प्रकाशित



पेरिस, १७ फागुन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ भने इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ ।

घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको छ । शनिबार बिहान सुरु भएको अमेरिका–इजरायलको संयुक्त सैन्य अभियानमा तेहरानसहित विभिन्न स्थानका रणनीतिक लक्ष्यहरूमा प्रहार गरिएको जनाइएको छ । इजरायली सेनाले २०० लडाकू जेट परिचालन गरी ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । वरिष्ठ इरानी अधिकारीहरू भेला भएका स्थानहरू र मिसाइल लन्चरहरू मुख्य निशानामा परेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले थप हजारौँ लक्ष्यमा कारबाही जारी रहने चेतावनी दिनुभएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमार्फत ‘आसन्न खतराहरू उन्मूलन गर्न’ अभियान सुरु गरिएको उल्लेख गर्दै आवश्यक परेसम्म भारी र सटीक बमबारी जारी रहने बताउनुभएको छ । उहाँले खामेनीलाई ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै मृत्यु भएको घोषणा गर्नुभएको थियो ।

त्यसको केही घण्टापछि इरानी राज्य टेलिभिजनले कालो ब्यानरसहित अभिलेख दृश्य प्रसारण गर्दै खामेनीको निधन पुष्टि गरेको हो । खामेनीको निधनमा इरानमा ४० दिनको राष्ट्रिय शोक र सात सार्वजनिक बिदा घोषणा गरिएको छ ।