एल निनोको सङ्केत, नयाँ तापक्रम जोखिम

-



     सफल आवाज    
     फागुन १८ गते २०८२ मा प्रकाशित



पेरिस, १८ फागुन । विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को दोस्रो आधामा एल निनो पुनः विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकहरूलाई सतर्क बनाएको छ । अमेरिकी नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो गठन हुने सम्भावना ५० देखि ६० प्रतिशत छ, जसले विश्वव्यापी तापक्रमलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने आकलन गरिएको छ ।

विश्व मौसम विज्ञान सङ्गठनले यसबारे अद्यावधिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिने प्राकृतिक जलवायु चक्र एल निनो–दक्षिणी दोलन (इएनएसओ) को तातो चरण हो । यसको विपरीत अवस्था ला निना हो भने दुवैबीच तटस्थ अवस्था पनि रहन्छ ।

१९औँ शताब्दीमा पेरु र इक्वेडोरका माछा मार्नेहरूले क्रिसमस नजिकिँदै गर्दा समुद्रको पानी असामान्य रूपमा तातो भएको देखेपछि त्यसलाई ‘एल निनो’ नाम दिएका थिए । स्पेनी भाषामा ‘एल निनो’ को अर्थ ‘बालक’ वा ‘बाल येशू’ हुन्छ । एल निनो हुँदा प्रशान्तमा पूर्वदेखि पश्चिमतिर बहने व्यापारिक हावा कमजोर भई समुद्री सतहको तापक्रम विशेषगरी मध्य र पूर्वी प्रशान्तमा बढ्छ । यसले विश्वभरि वर्षा र हावाको ढाँचा बदल्छ ।

अतिरिक्त समुद्री ताप वायुमण्डलमा ऊर्जा बनेर विश्व औसत तापक्रम अस्थायी रूपमा बढ्न सक्छ । एनओएएका मौसमविद् नेट जोनसनका अनुसार सामान्य एल निनोले औसत तापक्रममा करिब ०.१ देखि ०.२ डिग्री सेल्सियससम्म वृद्धि गराउन सक्छ । एल निनो सामान्यतः दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ ।

यसको प्रभाव क्षेत्रअनुसार फरक पर्छ । दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, दक्षिणी अफ्रिका र उत्तरी ब्राजिलमा प्रायः सुक्खा अवस्था देखिन्छ भने हर्न अफ अफ्रिका, दक्षिणी संयुक्त राज्य अमेरिका, पेरु र इक्वेडरमा बढी वर्षा हुन्छ । पछिल्लो एल निनो २०२३–२०२४ मा भएको थियो, जसले २०२३ लाई दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो ।