मध्यपूर्व युद्धः तनाव तीव्र, आक्रमण र प्रतिआक्रमण जारी

-



     सफल आवाज    
     फागुन २३ गते २०८२ मा प्रकाशित



वासिङ्टन, २३ फागुन । अमेरिका–इजरायल र इरानबीच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबरहरू आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि यसको प्रभाव देखिन थालेको छ ।

शनिबार दुबई र बहराइनको राजधानी मानामामा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले जनाएका छन् । इरानले खाडी क्षेत्रका लक्ष्यहरूमा प्रतिशोधात्मक आक्रमण सुरु गरेको एक हप्तापछि यी विस्फोटहरू सुन्निएको हो । मानामामा चेतावनी साइरन बजाइएको थियो र बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दालाई नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न ‘आपतकालीन’ स्वीकृति दिएको जनाएको छ । विदेश मन्त्रालयको राजनीतिक–सैन्य मामिला ब्युरोका अनुसार प्रस्तावित बिक्रीले इजरायलको रक्षा क्षमता सुदृढ बनाउने, वर्तमान र भविष्यका खतराहरू सामना गर्न सहयोग गर्ने तथा क्षेत्रीय खतराविरुद्ध निवारकका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणपछि इजरायली सेनाले देशभरि हवाई आक्रमणको चेतावनी जारी गरेको जनाएको छ । इरानले आफ्नो सर्वोच्च नेता आयातुल्ला अली खामेनीको हत्या र देशभरका लक्ष्यहरूमा गरिएको अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीको बदला लिन इजरायलमाथि लगातार आक्रमण गरिरहेको बताइएको छ ।