मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा

-



     सफल आवाज    
     फागुन २७ गते २०८२ मा प्रकाशित



दुबई, २७ फागुन । मध्यपूर्व क्षेत्रमा जारी युद्धका बीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाइरहेको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढ्दै गएको छ ।

बुधबार बिहान इजरायल र इरानबीच पुनः आक्रमण भएको खबर सार्वजनिक भएको छ । यसैबीच इरानले क्षेत्रका तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै विभिन्न गतिविधि तीव्र बनाएको बताइएको छ ।

विश्लेषकहरूका अनुसार इरानले यस्तो रणनीति अपनाएर विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्दै इजरायल र अमेरिकामाथि आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन खोजेको हुन सक्छ । इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ ।

विश्वको करिब पाँच भागमध्ये एक भाग तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यस क्षेत्रमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ । बुधबार बिहान ओमानको तट नजिकै हर्मुज जलडमरूमा एउटा कन्टेनर जहाजमा प्रहार हुँदा जहाजमा आगलागी भएको थियो ।

आगो नियन्त्रण बाहिर गएपछि जहाजका कर्मचारीहरूलाई जहाज छाडेर सुरक्षित स्थानमा जान बाध्य भएको जनाइएको छ ।