
सियोल, २८ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गर्नुभएको छ ।
राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उहाँसँगै उहाँकी किशोरी छोरी पनि शुटिङ रेन्जमा हतियार परीक्षण गर्दै देखिएकी छन्, जसले उत्तर कोरियाको भावी नेतृत्वबारे फेरि चर्चा बढाएको छ । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमले एक दिनअघि पेस्तोल तथा अन्य हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षण गर्नुभएको थियो ।
त्यस क्रममा हालै उत्पादनमा प्रवेश गरेको नयाँ पेस्तोलको प्रदर्शन गरिएपछि उहाँले शुटिङ रेन्जमा त्यसको प्रत्यक्ष परीक्षण गर्नुभएको थियो । परीक्षणपछि उक्त पेस्तोललाई उहाँले ‘उत्कृष्ट’ भन्दै मूल्याङ्कन गर्नुभएको केसिएनएले जनाएको छ । समाचार एजेन्सीले आफ्नो लिखित विवरणमा किमकी छोरीको उपस्थितिबारे उल्लेख नगरे पनि सार्वजनिक तस्बिरहरूमा उनी वरिष्ठ सैन्य अधिकारीहरूसँगै पेस्तोल फायर गरिरहेको देखिन्छ ।
किमले कारखानाको भूमिका सेनादेखि सुरक्षा निकायसम्मका लागि पेस्तोल तथा अन्य हल्का हतियार आपूर्ति गर्न महत्त्वपूर्ण रहेको बताउँदै उत्पादन क्षमता विस्तार गर्न र थप आधुनिक उत्पादन लाइन स्थापना गर्न निर्देशन दिनुभएको केसिएनएले उल्लेख गरेको छ ।
किमकी छोरी किम जु ए सन् २०२२ नोभेम्बरमा गरिएको लामो दूरीको मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसयता उनी आफ्ना बुबासँग विभिन्न सैन्य कार्यक्रम, कारखाना उद्घाटन र उच्चस्तरीय कूटनीतिक भेटघाटमा निरन्तर देखिँदै आएकी छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




