अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

-



     सफल आवाज    
     फागुन २९ गते २०८२ मा प्रकाशित



काबुल, २९ फागुन । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरहरूलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको जनाएको छ ।

दुई छिमेकी मुलुकबीच जारी सैन्य तनाव तेस्रो हप्तामा प्रवेश गरेका बेला यस्तो आरोप सार्वजनिक भएको हो । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानका विमानहरूले कान्दाहार विमानस्थल नजिक रहेको निजी एयरलाइन्स ‘काम एयर’ सँग सम्बन्धित इन्धन डिपोमा पनि प्रहार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त डिपोबाट नागरिक विमानका साथै संयुक्त राष्ट्रसङ्घका उडानहरूलाई समेत इन्धन आपूर्ति हुँदै आएको थियो ।

यस घटनाबारे पाकिस्तान सरकार वा सेनाले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । पछिल्ला हप्ताहरूमा पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ । फेब्रुअरीको अन्त्यदेखि दुवै पक्षले एकअर्काका सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । काबुलले सीमाक्षेत्रमा भएको पाकिस्तानी आक्रमणको जवाफस्वरूप आफ्ना बलहरूले पाकिस्तानी चौकीहरूमा प्रहार गरेको बताउँदै आएको छ ।

यता पाकिस्तानले भने आफ्ना कारबाहीहरू पाकिस्तानी तालिबान र सीमावर्ती क्षेत्रमा सक्रिय उनीहरूको समर्थन सञ्जाललाई लक्षित गरी गरिएको दाबी गर्दै आएको छ । अफगानिस्तानले भने त्यस्तो समूहलाई औपचारिक रूपमा मान्यता दिएको छैन ।