लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक पनि नेपालमै प्रथम

-



     सफल आवाज    
     चैत्र १२ गते २०८२ मा प्रकाशित



लुम्बिनी, १२ चैत। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रुपमा उत्कृष्ट घोषित भएको छ । उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो ।

विगत दुइ वर्षदेखि यस अस्पतालले उत्कृष्टता हासिल गर्दै आएको छ । यसवर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित तेस्रोपटक नेपालमै प्रथम भएको हो । अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतका बारेमा प्रस्तुती गरिएको थियो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताउनुभयो । उहाँले मूल्याङ्कन अङ्कमा मात्र नभइ जनताले पनि महसूस गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले सेवालाई थप विशिष्टीकृत गर्दै लैजान आग्रह गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मुल्याङ्कनमा प्राप्त नतिजा पर्याप्त नभएकाले थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत सेवा प्रदान हुँदै आएको छ ।