
जोहानेसबर्ग, ४ वैशाख । दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई रूसमा पुनःस्थापित गर्ने पहल सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय राजनीति, आप्रवासन नीति र जातीय बहस एकैसाथ तातिएको छ । टेक अर्बपति एलन मस्कका पिता एरोल मस्कले दक्षिण अफ्रिकी किसानहरूलाई रूसी भूमिमा शरणार्थीको दर्जा दिलाउने परियोजनामा काम गरिरहेको जानकारी दिनुभएको छ ।
यो पहल अमेरिकी सरकारको समान कार्यक्रमसँग समानान्तर रूपमा अघि बढिरहेको देखिएको छ । टेलिफोनमार्फत मस्कोबाट एएफपीसँग कुरा गर्दै एरोल मस्कले यो योजना दक्षिण अफ्रिकी किसानहरूलाई शरणार्थीका रूपमा रूसमा बसोबास गराउने उद्देश्यले अघि बढाइएको स्पष्ट पार्नुभयो ।
रुसी अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा डच मूलका श्वेत अफ्रिकानर समुदायका करिब ५० परिवारलाई रूसमा पुनःस्थापित गर्ने तयारी भइरहेको छ । यही समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पनि शरणार्थीको रूपमा संयुक्त राज्य अमेरिकामा बसोबास गराउने प्रस्ताव अघि सारेको थियो ।
उक्त प्रस्तावमा रङ्गभेदपछिको दक्षिण अफ्रिकी सरकारले श्वेत अल्पसङ्ख्यकलाई सताएको भन्ने दाबी गरिएको थियो, जसलाई दक्षिण अफ्रिकी सरकारले पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ । ट्रम्प प्रशासनले गत वर्ष जनवरीमा पदभार ग्रहण गरेपछि करिब पाँच हजार श्वेत अफ्रिकीहरूलाई शरणार्थीका रूपमा अमेरिका प्रवेश गराइसकेको छ भने अन्य समूहका लागि शरणार्थी कार्यक्रमहरू रोकेको छ ।
देशभित्र कुनै जातीय भेदभाव नरहेको दाबी गर्दै आएको प्रिटोरिया (अफ्रिकी सरकार) लाई अमेरिकी नीतिले असन्तुष्ट बनाएको छ । यसैबीच रूसमा अघि बढाइएको नयाँ पहलले पनि दक्षिण अफ्रिका र रूसबीचको सम्बन्धमा प्रभाव पार्न सक्ने विश्लेषण हुन थालेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




