नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’ सञ्चालन

- कर्मचारी आमालाई स्तनपानमा सहजता हुने

-



     सफल आवाज    
     वैशाख १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ वैशाख। नबिल बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै तीनधारास्थित केन्द्रीय कार्यालयमा ‘नबिल नर्सिङ रुम’ को सुरुवात गरेको छ।

बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई कार्यालय समयमा सहज, सुरक्षित र मर्यादित रूपमा स्तनपान गराउने वातावरण मिलाउने उद्देश्यले उक्त कक्ष स्थापना गरिएको हो।

आयोजित एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर नर्सिङ रुमको उद्घाटन गर्नुभयो। कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (CEO) मनोजकुमार ज्ञवाली, सञ्चालक समिति सदस्यहरू अनन्त पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाह लगायतको उपस्थिति थियो।

कर्मचारी हित र लैङ्गिक समानतामा जोड

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष निर्वाण चौधरीले यसलाई एउटा सकारात्मक सुरुवातको रूपमा अर्थ्याउनुभयो। “लैङ्गिक समानता र कर्मचारीको हित नबिल बैंकका प्रमुख मान्यता हुन्। आज सुरु भएको यो कक्षले हाम्रा ती मूल्यमान्यताहरूलाई प्रतिबिम्बित गर्छ,” अध्यक्ष चौधरीले भन्नुभयो। उहाँले हाल केन्द्रीय कार्यालयमा सुरु गरिएको यो सुविधा आगामी दिनमा अन्य शाखाहरूमा पनि विस्तार गर्दै लैजाने योजना रहेको सुनाउनुभयो।

त्यस्तै, सञ्चालक सरिता भट्ट अधिकारीले यो कक्षको थालनीले कर्मचारी आमाहरूलाई कार्यालयभित्र आफ्ना बच्चासँग सुरक्षित रहेको महसुस गराउने बताउनुभयो। प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यस्ता प्रयासले बैंकभित्र सहयोगी कार्यवातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायत अन्य उच्चपदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

चार दशकदेखिको सेवा र सञ्जाल

विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर २६८ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। दिगो बैंकिङको अवधारणालाई आत्मसात् गरेको बैंकले पछिल्लो समय डिजिटल बैंकिङका लागि ‘एनबैंक’ समेत सञ्चालनमा ल्याएको छ।