सरकार निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रतिबद्ध छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

-



     सफल आवाज    
     वैशाख २० गते २०८३ मा प्रकाशित



काठमाडौं, २० वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपाल अब आर्थिक रूपान्तरणको ‘प्रस्थान बिन्दु’ मा उभिएको विश्लेषण गर्नुभयो। उहाँले

आर्थिक प्रस्थान बिन्दु र लक्ष्य

सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको स्मरण गराउँदै मन्त्री वाग्लेले हाल नेपाल पनि सोही बिन्दुमा रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी सात वर्षभित्र नेपालको आर्थिक स्वरूप बदल्ने महत्वाकांक्षी लक्ष्यसमेत सार्वजनिक गर्नुभएको छ :

  • प्रतिव्यक्ति आम्दानी: आगामी ७ वर्षमा ३ हजार अमेरिकी डलर पुर्‍याउने ।
  • अर्थतन्त्रको आकार: करिब १०० अर्ब डलरको हाराहारीमा पुर्‍याउने ।
  • आर्थिक वृद्धि: भारतले विगत दशकमा हासिल गरेको ९ देखि १० प्रतिशतको वृद्धिलाई पछ्याउने ।

नीतिगत स्थिरता र राजनीतिक सुनिश्चितता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै मन्त्री वाग्लेले यसबाट लगानीकर्ताले नीतिगत स्थिरताको सुनिश्चितता पाउने बताउनुभयो । “लगानीकर्ताका लागि नीतिगत स्थिरता सबैभन्दा महत्त्वपूर्ण हुन्छ, जुन यो सरकारले प्रदान गर्नेछ,” उहाँले भन्नुभयो ।

डिजिटलाइजेसन: विकासको प्रमुख अस्त्र

नेपालको भूपरिवेष्ठित भौगोलिक जटिलतालाई चिर्न डिजिटलाइजेसन नै मुख्य हतियार हुने मन्त्री वाग्लेको तर्क छ । सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिनकै लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उहाँले जानकारी दिनुभयो । यस कदमले सरकारी सेवा प्रवाहमा क्रान्ति ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

निजी क्षेत्रलाई प्रोत्साहन

निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्छ ।” व्यवसायिक वातावरण सुधारेर आन्तरिक र बाह्य लगानी आकर्षित गर्नु सरकारको प्राथमिकता रहेको उहाँको भनाइ थियो ।