समृद्धिका ‘६ स्तम्भ र ६० पहल’: महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको ६० बुँदे राेडम्याप सार्वजनिक

-



     सफल आवाज    
     वैशाख २५ गते २०८३ मा प्रकाशित



काठमाडौं, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र देशको अर्थतन्त्रलाई गति दिन ‘६ स्तम्भ र ६० पहल’ को विस्तृत कार्यदिशा बाेकेकाे राेडम्याप सार्वजनिक गर्न भएकाे छ ।

महासंघमा आगामी तीन वर्षका लागि नेतृत्व सम्हाल्दै उहाँले ‘समृद्धि र सुशासनका लागि गतिशील निजी क्षेत्र’ लाई आफ्नो मुख्य एजेण्डा बनाउने घोषणा गर्नुभएकाे हाे ।

अध्यक्ष श्रेष्ठले ‘जोसिलो, जिम्मेवार र जीवन्त महासंघ’ को नारासहित निजी क्षेत्रको हकहितका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ।

अर्थतन्त्रका विरोधाभास र चुनौती

देशको वर्तमान आर्थिक अवस्थाबारे विश्लेषण गर्दै अध्यक्ष श्रेष्ठले विदेशी मुद्रा सञ्चिति $३.४१४$ खर्ब पुग्नु र रेमिटेन्समा $४०\%$ को वृद्धि हुनु सकारात्मक सूचक भए तापनि आन्तरिक उत्पादन र लगानीको अवस्था भने चिन्ताजनक रहेको औँल्याउनु भयाे।

“बैंकहरूमा करिब $७$ सय अर्बको तरलता भए पनि उद्यमीहरूबाट लगानीको माग नहुनु र उद्योगहरू क्षमताभन्दा कममा सञ्चालन हुनुले निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको पुष्टि हुन्छ,” उहाँले भन्नुभयाे।

कार्यदिशाका मुख्य बुँदाहरू

अध्यक्ष श्रेष्ठले महासंघको साख बढाउन र निजी क्षेत्रलाई सुदृढ बनाउन निम्न योजनाहरू अघि सार्नुभएकाे छ ।

  • संस्थागत सुधार: सचिवालयको व्यावसायिकरण, डिजिटल सदस्य पोर्टल, मोबाइल एप, र जिल्ला तथा वस्तुगत डेस्कको स्थापना।
  • अनुसन्धान र नीति: नीति अनुसन्धान शाखा र कानूनी डेस्कको स्थापना गरी सरकारको दोस्रो चरणको आर्थिक सुधारमा सक्रिय सहभागिता।
  • स्वदेशी उत्पादन र स्टार्टअप: ‘मेड इन नेपाल’ अभियानको प्रवर्द्धन, निर्यात सहजीकरण र स्टार्टअप प्रोत्साहन।
  • लगानी परिचालन: वैदेशिक लगानी सहजीकरण, जलवायु वित्त र गैर-आवासीय नेपालीको लगानीलाई प्राथमिकता।
  • दक्ष जनशक्ति: ‘स्किल एकेडेमी’ को स्थापना, श्रम विवाद समाधानका लागि मध्यस्थता केन्द्र र दक्ष जनशक्ति निर्माण।
  • व्यावसायिक वातावरण: ‘इज अफ डुइङ बिजनेस’ मा सुधार, व्यावसायिक विवादको गैर-अपराधीकरण र निजी सम्पत्तिको सुरक्षाका लागि पैरवी।

सरकारसँगको सहकार्य र सामाजिक दृष्टिकोण

अध्यक्ष श्रेष्ठले महासंघ सरकारको प्रतिद्वन्द्वी नभई अर्थतन्त्रको सहयात्री भएको स्पष्ट पारे। उनले व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र अग्रिम धरौटी जस्ता प्रक्रियागत झन्झट समाधान हुनुपर्नेमा जोड दिनुभएकाे छ ।

“सरकारले निजी क्षेत्रलाई केवल साक्षी मात्र नबनाई नीति निर्माण र कार्यान्वयनको हरेक चरणमा वास्तविक साझेदार मान्नुपर्छ,” उनले भन्नुभयाे । साथै, उद्यमीलाई ‘शोषक’ नभई ‘सम्पत्ति निर्माता’ र ‘करदाता सहयात्री’ का रूपमा हेर्ने सामाजिक दृष्टिकोण विकास गर्न महासंघले विशेष अभियान चलाउने जानकारी समेत दिनुभयाे।

अध्यक्ष श्रेष्ठले पूर्व अध्यक्षहरूको मार्गनिर्देशन र वर्तमान कार्यसमितिको सामूहिक भावनालाई आत्मसात गर्दै जिल्ला, नगर, वस्तुगत र एशोसिएट सदस्यहरूको आवाजलाई केन्द्रसम्म पुर्याउने विश्वास दिलाउनु भयाे ।