संख्याको दम्भमा विधि नमिच्न सरकारलाई प्रचण्डको चेतावनी

- 'संसद् छलेर अध्यादेशबाट शासन चलाउन खोजियो'

-



     सफल आवाज    
     वैशाख २९ गते २०८३ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले संख्याको दम्भमा लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रक्रियाको ठाडो उल्लङ्घन गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै दाहालले सरकारलाई जनताको विश्वासको दुरुपयोग नगर्न र विधि सुदृढीकरणमा ध्यान दिन चेतावनी दिएका हुन्।

संसद छलेर अध्यादेशको शासन

दाहालले सरकारले संसद चालु रहेकै अवस्थामा त्यसलाई स्थगित गरी जनप्रतिनिधिको आवाज थुन्ने प्रयास गरेको आरोप लगाए। उनले भने, “आफैंले बोलाएको संसद स्थगित गरेर जनप्रतिनिधिहरूलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतान्त्रिक पद्धतिमा स्वीकार्य हुन सक्दैन।”

प्रतिशोध र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

सरकारले आलोचना सहने क्षमता गुमाएको भन्दै दाहालले पछिल्लो समय भएका धरपकड र गिरफ्तारीप्रति कडा आपत्ति जनाए। सम्बोधनका क्रममा उनले उल्लेख गरेका मुख्य बुँदाहरू:

  • प्रतिशोधको राजनीति: सरकारको आलोचना गर्नेहरूमाथि प्रतिशोध साँध्ने उद्देश्यले धरपकड सुरु गरिएको।
  • प्रेस स्वतन्त्रतामाथि अंकुश: सरकारको आलोचना गरेकै आधारमा पत्रकार र युट्युबरहरूलाई पक्राउ गरिएको।
  • पारदर्शिताको अभाव: मन्त्रीहरूको सम्पत्ति विवरणबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकारले त्यसलाई ढाकछोप गर्न खोजेको।

“संख्याको दम्भमा विधि मिच्ने काम नहोस्। तपाईहरूलाई जनताले विश्वास गरेका छन्, त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लगाउनुस्,” दाहालले सरकारलाई सुझाव दिए।

स्वेच्छाचारिताको आरोप

हिजोका दिनमा पुराना दलहरूलाई ‘खत्तम’ भन्ने भाष्य निर्माण गरेर सत्तामा पुगेकाहरू नै आज स्वेच्छाचारी बनेको दाहालको तर्क थियो। उनले सरकार स्वयं लोकतान्त्रिक मूल्यमा आघात पुर्‍याउने र संसद् छल्ने अभ्यासमा लिप्त भएको दाबी गरे।

उनले सरकारले आफ्ना गल्तीहरू सुधार्दै जनस्तरबाट उठेका प्रश्नहरूको पारदर्शी जवाफ दिनुपर्नेमा जोड दिएका छन्।