रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा अर्बौंको लगानी

-



     सफल आवाज    
     वैशाख ३० गते २०८३ मा प्रकाशित



सिद्धार्थनगर (भैरहवा), ३० वैशाख । लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै रुपन्देही जिल्ला देशकै प्रमुख पर्यटकीय ‘हब’ का रूपमा विकसित हुन थालेको छ । होटल तथा पर्यटन पूर्वाधारमा निजी क्षेत्रको बढ्दो लगानीले यस क्षेत्रको स्वरूप नै बदलिदिएको छ ।

पछिल्लो समय भैरहवा–लुम्बिनी करिडोर र जिल्लाका मुख्य सहरी क्षेत्रमा पाँचतारेदेखि तीनतारे होटल खुल्ने क्रम तीव्र छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल लक्षित होटलमा लगानी थपिएको व्यवसायीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय ब्रान्डको आकर्षण जिल्लामा अन्तर्राष्ट्रिय स्तरका होटल व्यवस्थापन समूहको प्रवेशले रुपन्देहीको पर्यटन छवि विश्वस्तरमा पुगेको छ । हाल हायात प्यालेस, टाइगर प्यालेस, भिलासा र लुम्बिनी हेरिटेजजस्ता ठूला होटल सञ्चालनमा छन् । सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार जिल्लामा पाँचतारे होटलको सङ्ख्या उल्लेख्य छ र थप नयाँ परियोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीका अनुसार हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको चासोले लगानीकर्तामा थप उत्साह जगाएको छ ।

भारतीय पर्यटक र बसाइ अवधि विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी होटल क्षेत्रमा ठूलो लगानी भइरहेको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले बताउनुभयो । सीमावर्ती क्षेत्रबाट आउने पर्यटकको चाप उच्च रहेकाले रुपन्देहीलाई प्रमुख विश्राम तथा गन्तव्यस्थल बनाउनुपर्नेमा उहाँको जोड छ ।

पर्यटन व्यवसायी किशोर जोशीका अनुसार लुम्बिनी भ्रमणपछि धेरै पर्यटक सोही दिन फर्किने गरेकाले उनीहरूको बसाइ अवधि लम्ब्याउनु अहिलेको मुख्य चुनौती हो । “बसाइ बढाउन थप आकर्षक गतिविधि, सांस्कृतिक कार्यक्रम र विशेष पर्यटन प्याकेज आवश्यक छ,” जोशीले भन्नुभयो ।

कनेक्टिभिटीले सहजता काठमाडौँ, पोखरा, चितवन र बर्दिया जाने पर्यटकका लागि पनि भैरहवा एउटा ट्रान्जिट प्वाइन्ट बनेको छ । होटल, रिसोर्ट र क्यासिनोहरूको विस्तारसँगै रुपन्देही लुम्बिनी प्रदेशकै प्रमुख आतिथ्य केन्द्रका रूपमा स्थापित भएको छ । लगानी बढ्ने क्रम जारी रहेकाले आगामी दिनमा यस क्षेत्रले थप रोजगारी र आर्थिक समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।फाेटाे-एआइ सिर्जित