सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै सुकुम्बासी संघद्वारा आन्दोलन घोषणा-बिहीवार चक्काजाम गर्ने

-



     सफल आवाज    
     वैशाख ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी तथा अव्यवस्थित बस्ती खाली गराउने सरकारको कदमविरुद्ध कडा आन्दोलनको घोषणा गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको ‘डोजर अभियान’ र जबर्जस्ती उठीवासविरुद्ध चरणवद्ध सङ्घर्ष गर्ने जानकारी दिएको हो।

अदालतको अवहेलना र सेनाको संलग्नतामा आपत्ति

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्बासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसकेको अवस्थामा पनि कोहलपुर लगायतका क्षेत्रमा डोजर चलाइएकोमा तीव्र आपत्ति जनाउनुभयो। उहाँले सरकारले सर्वोच्च अदालतको आदेशको धज्जी उडाएको र नेपाली सेनालाई समेत विवादमा तान्ने गरी परिचालन गरेको भन्दै निन्दा गर्नुभयो।

“अदालतको आदेशमाथि धावा बोल्ने काम भएको छ। सरकारले मात्र होइन, नेपाली सेना आफैँ विवादमा आउने गरी हस्तक्षेप गरेको छ, यसका विरुद्ध हामी सशक्त संघर्ष गर्नेछौँ,” अध्यक्ष परियारले भन्नुभयो।

आन्दोलनका कार्यक्रम र यातायात बन्दको आह्वान

संघले यसअघि वैशाख ११ गते घोषणा गरेका कार्यक्रमहरूलाई निरन्तरता दिँदै वैशाख ३१ गते देखि थप कडा संघर्ष गर्ने बताएको छ। आन्दोलनको स्वरूपबारे जानकारी दिँदै संघले निम्न घोषणा गरेको छ:

  • चक्काजाम: वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई आग्रह गरिएको छ।
  • विरोध प्रदर्शन: सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य नरोकिएसम्म देशव्यापी प्रदर्शन जारी रहने।

प्रधानमन्त्रीमाथि गम्भीर आरोप र ‘रिकल’को माग

अध्यक्ष परियारले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको, राष्ट्रपति र संसदको गरिमा कमजोर पारेको तथा सेनालाई राजनीतिक विवादमा तानेको आरोप लगाउनुभयो।

साथै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभ्यास गर्ने भनेको ‘प्रत्याह्वान’ (Right to Recall) को प्रावधान प्रयोग गरी प्रधानमन्त्री एवं रास्वपा संसदीय दलका नेता शाहलाई पदबाट फिर्ता बोलाउन समेत संघले माग गरेको छ।