ओरालो लाग्ने क्रम रोकियो, सामान्य अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     जेठ १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ जेठ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा साताको अन्तिम दिन शुक्रबार भने सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर बन्द भएको छ।

परिसूचकसँगै यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेका छन्।

कारोबार रकममा भने गिरावट

नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ। यस दिन ३३८ कम्पनीका ७९ लाख ३४ हजार कित्ता शेयर ४३ हजार ६७४ पटकको कारोबारमा खरिदबिक्री भएका छन्।

कुन कम्पनीको अवस्था कस्तो ?

शुक्रबार ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशतले बढेको छ। मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा अन्य कम्पनीहरूको वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम सीमित रह्यो।

यता, यूनियन हाइड्रोपावरको शेयरमूल्यमा भने सर्वाधिक गिरावट देखिएको छ। यस कम्पनीको मूल्य १४.७९ प्रतिशतले घट्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि करिब ६ प्रतिशतले ओरालो लागेको छ।

कारोबारमा यूनियन हाइड्रोपावरकै वर्चस्व

सर्वाधिक शेयरमूल्य घटे पनि कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर नै शीर्ष स्थानमा रहन सफल भयो। सो कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, अपि पावरको साढे ११ करोड र रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत अवस्था

कारोबारमा आएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ। बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ।